Ad Image

विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा सम्पन्न

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1753944719048.jpg

काठमाडौं । मधेसमा जलसङ्कट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत सो समितिको बैठकमा सङ्घीय सरकारबाट भइरहेका विपद्सम्बन्धी कामको प्रगतिमाथि समीक्षा भएको मन्त्रालयले जनाएको छ । 

साथै प्रदेश सरकारको आगामी कार्यदिशा तथा स्थानीय तहसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश गृहमन्त्री लेखीले जानकारी दिए ।

बैठकले हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ । हाल सप्तरी र पर्सा जिल्लाको खानेपानी आपूर्ति गरिरहेका बाँकी दुईवटा दमकललाई सोही प्रयोजनमा लगाइने निर्णय बैठकले गरेको छ ।  

साथै, विपद् सङ्कटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाइको व्यवस्था गर्न सङ्घीय सरकार र अन्य दातृ निकायबाट प्राप्त स्रोतसाधनलाई प्रभावकारी रुपमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले विपद् प्रभावित क्षेत्रमा कार्य प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सबै सरोकारवाला निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ वटा पानी ट्याङ्कर र एउटा ‘बम डिस्पोजल’ गाडीलाई प्रचलित कानुनअनुसार अस्थायी दर्ता गराउन प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ ।

गृहमन्त्री लेखीका अनुसार विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आगामी दिनमा थप योजनाहरु कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।