Ad Image

ट्रम्पले बढाएको करमा छैन नेपालको नाम, भारतलाई २५ प्रतिशत कर, अरूलाई कति?

User Image रामचन्द्र मिश्र | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gettyimages-2208184612-20250729115436654.jpg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार (जुलाई ३१) आफ्ना दर्जनौं व्यापार साझेदारहरूमाथि नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे। आयातमा लगाइएको पछिल्लो शुल्कहरू अर्को शुक्रबार (अगस्ट ७) बाट लागू हुने भनिएको छ। यसअघि ट्रम्पले अगस्ट १ देखि लागू हुने गरी विभिन्न देशहरूमा थप कर वृद्धि लागू हुने बताएका थिए ।

तर यो पटक पनि नेपालको नाम भने समावेश भएको छैन । नाम समावेश नभए पनि नेपालले थप १० प्रतिशत कर समान अमेरिकामा निर्यात गर्दा तिर्नुपर्छ । भारत, चीन, बंगलादेश तथा पाकिस्तानको तुलनामा यो निक्कै सहज करको दर भएको छ । नेपालले अमेरिकामा निर्यात गर्ने बस्तुहरू धेरै नभएकाले र निर्यातभन्दा आयात बढी भएकाले यसअघिकै ट्रम्प प्रशासनको निर्णयअनुसार १० प्रतिशत थप कर यथावत रहेको हो । छिमेकी देशलाई ट्रम्प प्रशासनले निर्यात गर्ने समानमा कर बढाएकाले नेपालले यसबाट फाइदा लिनसक्ने नेपाली उद्योगीहरूले बताएका छन् ।

ट्रम्पले बढ्दो अमेरिकी व्यापार घाटालाई सम्बोधन गर्न १९७७ को अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन लागू गर्दै राष्ट्रिय आपत्काल घोषणा गरे। यो आपतकालीन घोषणासँगै ट्रम्पले अमेरिकामा हुने आयातमा थप कर बढाएका हुन् । सबैभन्दा कम अमेरिकी भन्सार दर १० प्रतिशतमा तोकिएको छ भने उच्चतम भन्सार दर ४० प्रतिशतभन्दा बढी तोकिएको छ। 
अमेरिकाले सबैभन्दा बढी कर लगाएको देशहरू
अमेरिकी करको उच्चतम सामना गर्ने देशहरूमा ब्राजिल, सिरिया, लाओस र म्यानमार समावेश छन्। ह्वाइट हाउसले साझा गरेको व्यापार शुल्कको सूची अनुसार, सिरियाले ४१ प्रतिशत करको सामना गरिरहेको छ भने लाओस र म्यानमारले ४० प्रतिशत करको सामना गरिरहेका छन्।

यसअघि बुधबार, ट्रम्पले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको ब्राजिलसँगको व्यापार युद्धमा थप कर वृद्धि गरेका छन् । अमेरिकामा समान निर्यात गर्दा ब्राजिलले अब ५० प्रतिशत कर ब्यहोर्नुपर्ने भएको छ।

घटे यी देशमा अमेरिकी भन्सार शुल्क 
ट्रम्पले संयुक्त अधिराज्य र फकल्याण्ड टापुहरूलाई लगाएको करमा सुधार गरेका छन् । उनीहरूले यी देशहरूमा १० प्रतिशत मात्रै कर लगाएका छन् । हालैका हप्ताहरूमा अमेरिकाले व्यापार सम्झौता गर्न सफल भएका केही राष्ट्रहरूमध्ये बेलायत पनि एक हो । युरोपेली संघले १५ प्रतिशतको उच्च करको दर सामना गरिरहेको बेला, अमेरिकाले आफ्ना आयातित सामानहरूमा बेलायत र फकल्याण्ड टापुहरूलाई मात्रै १० प्रतिशत कर लगाउन सहमत भएको छ।

दक्षिण अटलांटिक महासागरमा रहेको बेलायतको एक विदेशी क्षेत्र, फकल्याण्ड टापुहरू (इस्लास माल्भिनास) ले पनि १० प्रतिशत अमेरिकी भन्सार दरको सामना गर्नुपर्ने भएको हो ।

भारतले २५ प्रतिशत भन्सार महसुलको सामना गर्दैछ
ट्रम्पले भारतमाथि पहिले घोषणा गरिएको २६ प्रतिशत भन्सार दरलाई घटाएर २५ प्रतिशत कायम गरेको छ । बुधबार (जुलाई ३०) मा ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिकासँग भारतको ठूलो व्यापार घाटा रहेको बताएका छन् । उनले रुससँगको व्यापार सम्बन्धका कारण भारतले थप जरिवाना तिर्ने पनि बताए।

अमेरिकी भन्सार दरका कारण स्वीट्जरल्याण्ड निराश
द्विपक्षीय वार्तामा प्रगति र स्विट्जरल्याण्डको “धेरै रचनात्मक अडान’’ को बावजुद स्विस आयातमा ३९% कर लगाउने अमेरिकी निर्णयप्रति स्विस सरकारले “ठूलो खेद’’ व्यक्त गरेको छ । युरोपेली राष्ट्रमा ३९% कर ह्वाइट हाउसले घोषणा गरेको सबैभन्दा तीव्र कर मध्ये एक हो र यो अप्रिलमा प्रस्ताव गरिएको ३१% कर दर भन्दा उल्लेखनीय वृद्धि हो।

प्रमुख औषधि निर्यातकर्ता स्विट्जरल्याण्डले २०२४ मा अमेरिकासँग ८८.४ अर्ब डलरको द्विपक्षीय व्यापार गरेको थियो। अमेरिकामा स्विस सरकारले बहुमूल्य धातु र बिलासी घडीहरू पनि निर्यात गर्दछ । स्वीस सरकारले अमेरिकासँग सम्झौता गर्न प्रयास जारी राख्ने बताएको छ। स्विट्जरल्याण्डका राष्ट्रपति तथा अर्थमन्त्री करिन केलर–सटरले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तिम वार्तामा आफू सहमतिमा पुग्न नसकेको बताउँदै “व्यापार घाटा अझै पनि एक प्रमुख मुद्दा भएको” उल्लेख गरेकी छिन् ।

उद्योग तोकेर पनि लगाइएको छ कर !
बिहीबार सार्वजनिक गरिएको अमेरिकी आयातमा लगाइएको करको अतिरिक्त, विभिन्न उद्योगहरूलाई लक्षित करहरू पनि छन् जसले ती क्षेत्रहरूमा निर्भर देशहरूका लागि दूरगामी परिणामहरू निम्त्याउनेछ।

घोषणा गरिएका विशिष्ट उद्योगहरूमा स्टील, आल्मुनियम, तामा, अटोमोबाइल र कार पार्टपुर्जा लगायतका भन्सार शुल्कहरू छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा सुरु गरेका २३२ वटा अनुसन्धान अन्तर्गत औषधि र अर्धचालकहरू (सेमीकन्डक्टरहरू)मा लाग्ने शुल्क विचाराधीन छ । राष्ट्रिय सुरक्षाको बैठकका आधारमा दुवै क्षेत्रहरूमा कर लगाउने प्रयास अनुसार १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ अन्तर्गत अनुसन्धान सुरु गरिएको थियो । ट्रम्पले यसअघि औषधिमा २००% सम्मको उच्च कर र अर्धचालकमा २५% वा सोभन्दा बढी कर लगाउने धम्की दिइसकेका छन् ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार अर्धचालकहरूको अनुसन्धानको नतिजा दुई हप्तासम्म गरिने र त्यसपछि करको दर तोक्ने बताइसकेका छन् । केही देशहरू र अर्थतन्त्रहरूले विशेष क्षेत्रहरू समावेश गर्ने सम्झौताहरूमा वार्ता गरेका छन्।

युरोपेली संघ, जापान र दक्षिण कोरियाले अमेरिकासँग व्यापार सम्झौता गरे जसले गर्दा उनीहरूका सामानहरूमा १५% सम्म भन्सार शुल्क लगाइयो – यो दर उनीहरूको अटोमोबाइल निर्यातमा लागू हुनेछ । नयाँ करले औषधि र अर्धचालकहरू (कम्प्युटर, मोबाइल, टिभी, सर्ट सर्किट बोर्ड, प्रोसेसर, चिप्स, ट्रान्जिस्टर, डायोड, सोलार सेल, सेन्सर, आदि) जस्तालाई पनि समेट्छ।

अमेरिकी आयातमा स्टील र आल्मुनियममा ५०% कर लगाइएको छ । यो नीति जुन ४ बाट सुरु भएको हो । त्यस्तै तामामा अमेरिकाले ५०% नै कर लगाएको छ। अमेरिकी यो नीति अगस्ट १ देखि लागू भएको छ । अटोमोबाइल र कारका पार्टपुर्जामा भने अमेरिकाले २५% प्रतिशत आयात कर लगाएको छ । यो नीति अप्रिल ३ र मे ३ बाट सुरु भएको छ ।

क्यानडा थप निराश
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पहिलेदेखि नै रहेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत नपरेका क्यानेडियाली सामानहरूमा ३५% सम्म कर बढाउने अमेरिकी निर्णयबाट सरकार “निराश’’ भएको बताएका छन्। यद्यपि, अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौतामा क्यानेडाले सबैभन्दा कम कर तिर्नु परे पनि स्वतन्त्र व्यापारमा अमेरिकी नीतिले क्यानडा बेखुशी देखिएको हो ।

पहिलो ट्रम्प प्रशासनद्वारा वार्ता गरिएको र २०२० मा लागू भएको युनाइटेड स्टेट मेक्सिको क्यानडा एग्रीमेन्ट (यूएसएमसिए) सन्धी अन्तर्गत, उत्तर अमेरिकामा बनेका विभिन्न प्रकारका सामानहरू भन्सारमुक्त उपचारको लागि योग्य छन् ।

क्यानडाको केन्द्रीय बैंककाअनुसार क्यानाडाको ऊर्जा निर्यात १०० प्रतिशत र अन्य सबै वस्तुहरू ९५% ले युनाइटेड स्टेट मेक्सिको क्यानडा एग्रीमेन्ट (यूएसएमसिए)को पालनाअनुसार निर्यात योग्य छन् ।

क्यानडाको अर्थतन्त्रका अन्य क्षेत्रहरू – काठ, स्टील, आल्मुनियम र अटोमोबाइलहरू अमेरिकी भन्सारबाट धेरै प्रभावित हुने क्यानेडाको सरकारले जनाएको छ ।

ट्रम्पको अप्रिल २ को घोषणा पछि भन्सार शुल्क परिवर्तन भएका देशहरू !
अप्रिल २ मा, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आर्थिक आपत्काल घोषणा गरे र सबै देशहरूमा कम्तिमा १०% को भन्सार शुल्क लगाउने निर्णय गरे, जसमा अमेरिकासँग उच्च व्यापार घाटा भएका ६० देशहरू वा व्यापारिक समूहहरूका लागि दरहरू अझ उच्च थिए। उनले यसलाई “मुक्ति दिवस“ भने।

बिहीबार, राष्ट्रपतिले आफ्नो मध्यरातको समयसीमा अगाडि ती पारस्परिक शुल्कहरू मध्ये केहीमा समायोजनको घोषणा गरे।

अमेरिकाले परिवर्तन गरेका करको दरहरूको विवरणः–
अंगोलाः ३२% देखि १५%
बंगलादेशः ३७% देखि २०%
बोस्निया र हर्जगोभिनाः ३५% देखि ३०%
बोत्सवानाः ३७% देखि १५%
ब्रुनाईः २४% देखि २५%
कम्बोडियाः ४९% देखि १९%
क्यामरुनः ११% देखि १५%
चाडः १३% देखि १५%
कोट डि आइवरः २१% देखि १५%
प्रजातान्त्रिक गणतन्त्र कंगोः ११% देखि १५%
इक्वेटोरियल गिनीः १३% देखि १५%
युरोपेली संघः २०% देखि १५% (धेरैजसो सामानहरूको लागि)
फकल्याण्ड टापुहरूः ४१% देखि १०%
फिजीः ३२% देखि १५%
गुयानाः ३८% देखि १५%
भारतः २६% बाट २५%
इन्डोनेसियाः ३२% बाट १९%
इराकः ३९% बाट ३५%
इजरायलः १७% बाट १५%
जापानः २४% बाट १५%
जोर्डनः २०% बाट १५%
काजाकिस्तानः २७% बाट २५%
लाओसः ४८% बाट ४०%
लेसोथोः ५०% बाट १५%
लिबियाः ३१% बाट ३०%
लेइच्टेन्स्टाइनः ३७% बाट १५%
मेडागास्करः ४७% बाट १५%
मलावीः १७% बाट १५%
मलेसियाः २४% बाट १९%
मौरिससः ४०% बाट १५%
मोल्डोभाः ३१% बाट २५%
मोजाम्बिकः १६% बाट १५%
म्यानमारः ४४% बाट ४०%
नामिबियाः २१% बाट १५%
नाउरुः ३०% बाट १५%
नाइजेरियाः १४% बाट १५%
उत्तरी म्यासेडोनियाः ३३% बाट १५%
पाकिस्तानः २९% बाट १९%
फिलिपिन्सः १७% बाट १९%
सर्बियाः ३७% बाट ३५%
दक्षिण कोरियाः ३०% बाट १५%
श्रीलंकाः ४४% बाट २०%
स्विट्जरल्याण्डः ३१% बाट ३९%
ताइवानः ३२% बाट २०%
थाइल्याण्डः ३६% बाट १९%
ट्युनिसियाः २८% बाट २५%
भानुआटुः २२% बाट १५%
भियतनामः ४६% बाट २०%
जाम्बियाः १७% बाट १५%
जिम्बाब्वेः १८% बाट १५%

अस्ट्रेलियाले आफ्नो १०% दरको उत्सव मनाउँदै गर्दा न्यूजील्याण्डले भन्यो– १५% कर अनावश्यक !
बिहीबार अमेरिकामा हुने देशको निर्यातमा १५% आधार दर लागू भएपछि न्यूजील्याण्डका व्यापार मन्त्रीले ह्वाइट हाउसले बढाएको कर अनुचित भएको बताएका छन्।

यो दर छिमेकी अष्ट्रेलियामा लगाइएको १०% लेबी भन्दा बढी हो। “हामीलाई लाग्दैन कि यो राम्रो कुरा हो, हामीलाई लाग्दैन कि यो आवश्यक छ र यो व्यापारको लागि राम्रो छ’, व्यापार मन्त्री टम म्याकक्लेले शुक्रबार सार्वजनिक प्रसारक रेडियो न्यूजील्याण्डलाई भने।

म्याकक्लेले अगाडि भने, ‘वेलिंग्टनले वाशिंगटनसँग प्रत्यक्ष रूपमा सम्पर्क गरिरहेको छ र हाल कुनै पारस्परिक शुल्क लगाउने बारेमा विचार गरिरहेको छैन।’

यसैबीच, अष्ट्रेलियाका व्यापार मन्त्रीले क्यानबेराको लागि ह्वाइट हाउसले घोषणा गरेको १०% भन्सार दरलाई प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले अमेरिकासँग गरेको कूटनीति पहलको उपलब्धिको रुपमा अथ्र्याएका छन् ।
“अन्य देशहरूमा गरिएका अन्य सबै परिवर्तनहरूलाई हेर्दा यो निर्णयको अर्थ के हो भने अष्ट्रेलियाली उत्पादनहरू अब अमेरिकी बजारमा बढी प्रतिस्पर्धी छन्, “व्यापार मन्त्री डन फारेलले शुक्रबार भने। तर क्यानबेराले शून्य ट्यारिफको लागि जोड दिइरहने उनले बताए।

दक्षिणपूर्वी एसियाका केही भागहरूलाई अमेरिकाले लगायो धेरै कर 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा आफ्नो “पारस्परिक’’ भन्सार घोषणा गर्दा धेरै दक्षिणपूर्वी एसियाली देशहरू केही उच्चतम भन्सार दरहरूको मारमा परेका थिए ।

बिहीबार घोषणा गरिएको नयाँ करले यस क्षेत्रका धेरै राष्ट्रहरूमा चर्को कर लगाउने क्रम जारी राखेको छ। सबैभन्दा धेरै कर लाओस र म्यानमारमा लगाइएको छ । यी देशबाट अमेरिकामा हुने निर्यातमा ४०% कर लगाइएको छ । यद्यपि यो अघिल्लो उच्च दरहरू भन्दा कम दर रहेको छ । यस्तै सिरियामा केवल ४१% कर अमेरिकाले लगाएको छ ।

कम्बोडिया, भियतनाम, इन्डोनेसिया, मलेसिया र थाइल्याण्डको दरहरू १९ देखि २० प्रतिशतमा घटाइएको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले अमेरिकामा हुने देशको निर्यातमा पहिलेको ४९% बाट घटाएर १९% भन्सार कर लगाउनु कम्बोडियाका जनता र अर्थतन्त्रका लागि राम्रो खबर भएको बताए।

कम्बोडियाका उपप्रधानमन्त्री तथा शीर्ष व्यापार वार्ताकार सन चान्थोलले कम शुल्कले देशको महत्वपूर्ण गार्मेन्ट उद्योगको पतनलाई रोक्न मद्दत गरेको बताए।

दक्षिणपूर्वी एसियाली देशहरूमा लगाइएका भन्सारहरूको रेट पछिल्लो समय यस्तो छः
कम्बोडिया: ४९% बाट १९%
लाओसः ४८% बाट ४०%
भियतनामः ४६% बाट २०%
म्यानमारः ४४% बाट ४०%
इन्डोनेसियाः ३२% बाट १९%
ब्रुनाईः २४% बाट २५%
मलेसियाः २४% बाट १९%
फिलिपिन्सः १७% बाट १९%
थाइल्याण्डः ३६% बाट १९%
सिंगापुरः १०%
पूर्वी टिमोरः १०%

पाकिस्तानमा छायो खुशी !
पाकिस्तानलाई अमेरिकाले दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम भन्सार दर तोकेको छ । ह्वाइट हाउसले बिहीबार नयाँ कर घोषणा गरेपछि पाकिस्तान दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम कर दरको साथ देखा परेको हो । अमेरिकाले पाकिस्तानको भन्सार दर २९% बाट घटाएर १९% गर्ने घोषणा गरेको छ ।

इस्लामाबादले बिहीबार एक महिना अघि लागू गरिएको विदेशी डिजिटल सेवाहरूमा ५% कर फिर्ता लिएको छ। यो निर्णयलाई स्थानीय रूपमा अमेरिकाप्रति सद्भावनाको संकेतको रूपमा हेरिएको छ।

ट्रम्प प्रशासनले नयाँ दिल्लीलाई २५% भन्सार दरले प्रहार गरेकोमा भारतले पाकिस्तानलाई आर्थिक रूपमा अलग्याउन खोजिरहेको छ भन्ने इस्लामाबादमा रहेको डर केही हदसम्म कम भएको छ।

“यो सम्झौताले विशेष गरी ऊर्जा, खानी तथा खनिज, आईटी, क्रिप्टोकरेन्सी र अन्य क्षेत्रहरूमा आर्थिक सहकार्यको नयाँ युगको सुरुवातलाई संकेत गर्दछ, “पाकिस्तानी अर्थ मन्त्रालयले बिहीबार राति एक विज्ञप्तिमा भनेको छ।

अमेरिका पाकिस्तानबाट आउने कपडाको सबैभन्दा ठूलो बजार हो, जुन भारत, बंगलादेश र भियतनामसँग प्रत्यक्ष प्रतिस्पर्धामा छ, जसमा उच्च शुल्क लगाइएको छ। यो घोषणाले देशको कपडा क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ, जुन देशको कुल निर्यातको लगभग ६०% को लागि जिम्मेवार छ।

ट्रम्प प्रशासनको नेतृत्वमा पाकिस्तान अमेरिकासँग नजिक भएको छ । भारत र पाकिस्तानबीच युद्ध चर्किँदा अमेरिका भारतभन्दा पाकिस्तानसँग नजिक भएको र युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन समेत गरेको छ।

विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको व्यापार अझै अस्पष्ट 
विश्वभरका राष्ट्रहरू उच्च भन्सार शुल्कसँग जुधिरहेका बेला, अमेरिकासँग चीनको आर्थिक भविष्य अनिश्चित देखिएको छ । यस हप्ता स्वीडेनको स्टकहोममा चिनियाँ र अमेरिकी वार्ताकारहरूसँग दुई दिने बैठक भए पनि दुई देशहरूले करको दर उच्च स्तरमा बढ्नबाट रोक्ने सम्झौतामा अझै सहमति जनाउन सकेका छैनन्। अहिलेसम्म अमेरिकाले चिनियाँ समानहरूमा ५१ प्रतिशतसम्म कर बढाउने निर्णय लिएको छ भने चीनले अमेरिकी समानहरूमा लगभग ३३ प्रतिशत कर बढाएको छ ।

दुवै देशका कूटनीतिज्ञहरूले छलफललाई सकारात्मक रूपमा चित्रण गरेका छन्। वार्तालापलाई अवरुद्ध पार्ने मुद्दाहरू वित्तीय व्यवस्थाभन्दा धेरै टाढासम्म फैलिएका छन्। दुवै राष्ट्रहरूले स्रोत र प्रविधिलाई आ–आफ्नो सुरक्षा र स्थिरताको लागि महत्वपूर्ण मान्छन्।

यसमा चीनले पृथ्वीमा भएका दुर्लभ खनिजहरू, इलेक्ट्रोनिक उपकरण, प्रकाश र विद्युतीय सवारी साधनहरूदेखि लिएर सबै कुरा निर्माण गर्न आवश्यक पर्ने पदार्थहरू उपलब्ध गराउँछ । पहिले नै लागू गरिएको अमेरिकी करका कारण चीनको उत्पादन शक्तिले उच्च लागत र कम सामानहरू मार्फत अमेरिकी उपभोक्ताहरूमा पनि स्पष्ट प्रभाव पारिरहेको छ।

टेक जायन्ट एनभिडिया लगायत अमेरिकी कम्पनीहरूले एआई–सम्बन्धित प्लेटफर्महरूलाई शक्ति प्रदान गर्न महत्वपूर्ण चिप प्रविधिहरू बनाउँछन् । यी प्रविधिहरू चीनका लागि उत्तिकै महत्वपूर्ण छ ।

अर्थतन्त्रभन्दा बाहिर अहंकार पनि युद्ध
चिनियाँ नेता सी जिनपिङले कमजोर घरेलु अर्थतन्त्रलाई सन्तुलनमा राखिरहेका छन्, तर ट्रम्प र अमेरिकी मागहरू सामु झुक्ने कुनै पनि जोखिम लिन उनी तयार देखिएका छैनन् ।

अनि ट्रम्प कुख्यात रूपमा क्रुर छन् । तैपनि, दुवै नेताहरू आमनेसामने भेटघाट गर्न उत्सुक देखिन्छन्। व्यापारमा उनीहरूको गहिरो विभाजनलाई उनीहरूले कसरी सम्बोधन गर्छन् भन्ने कुराले विश्वव्यापी आर्थिक प्रणालीलाई नयाँ आकार दिनेछ।

अमेरिकाको नयाँ कर झट्काका कारण घटे एसियाली बजारहरू 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ऐतिहासिक नयाँ करहरू घोषणा गरेपछि शुक्रबार बिहान स्थानीय समय अनुसार एसिया प्रशान्त क्षेत्रका शेयर बजारहरू प्रायः रातोमा थिए ।

कारोबारको सुरुवाती घण्टामा जापानको बेन्चमार्क निक्केई–२२५, ०.६% ले घट्यो, र दक्षिण कोरियाको केओएसपीआई ३.२% ले घट्यो। ताइवानको टीएआईईएक्स ०.४% ले घट्यो, जबकि अष्ट्रेलियाको एसएण्डपी÷एएसएक्स–२००, ०.७% ले घट्यो। हङकङको ह्याङ सेङ सूचकांक ०.२% मा थोरै बढ्यो।

ट्रम्पको नयाँ शुल्क कस्तो छ ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका देशहरूका लागि नयाँ करहरू लागू गरेका छन्। अमेरिका आउने सामानहरूको लागि “विश्वव्यापी’’ भन्सार १०% मा रहनेछ, जुन स्तर अप्रिल २ मा लागू गरिएको थियो। तर त्यो १० प्रतिशत दर केवल ती देशहरूमा लागू हुनेछ जहाँ अमेरिकाले आयात भन्दा बढी निर्यात गर्दछ।

अमेरिकासँग व्यापार घाटा भएका देशहरूलाई १५ प्रतिशत कर लाग्नेछ । लगभग विश्वभरका ४० देशहरूले त्यो नयाँ १५% कर तिर्नेछन्। एक दर्जनभन्दा बढी देशहरूमा १५% भन्दा बढी भन्सार दरहरू छन् । ती देशहरू अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटामा छन् ।

ट्रान्सशिपमेन्ट जरिवाना
नयाँ व्यापार नीतिले तथाकथित ट्रान्सशिपमेन्टहरूमा ४०% अतिरिक्त जरिवाना पनि स्थापित गरेको छ। यदि सामानहरू उच्च भन्सार शुल्क भएको देशबाट कम भन्सार शुल्क भएको देशमा पठाएर त्यसपछि अमेरिकामा पुनः पठाइयो भने त्यसमा अतिरिक्त ४० प्रतिशत शुल्क लाग्ने अमेरिकाले जनाएको छ । अमेरिकाले पहिले नै भन्सार र सीमा सुरक्षा एजेन्टहरूले ट्रान्सशिप गरेको ठानेका सामानहरूमा जरिवाना लगाउँछ ।