थाईल्यान्डमा आँधीका कारण ६ जनाको मृ*त्यु


एजेन्सी । गत महिनादेखि उष्णकटिबन्धीय आँधी विफाले निम्त्याएको बाढी र पहिरोका कारण थाइल्यान्डमा ६ जनाको मृत्यु हुनका साथै दुई लाख ३० हजार भन्दा बढी मानिसहरु प्रभावित भएको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।
थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रहरूमा परेको छ ।
आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा प्रभावितहरुलाई आवश्यक सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको एजेन्सीले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा बाढीले बासिन्दाहरू डुबानमा परेको र सडकहरूमा प्लास्टिकका डुङ्गाहरू प्रयोग गरेको देखिन्छ । यद्यपि थाईल्यान्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ ।
वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले अधिक मौसमी परिवर्तन निम्त्याइरहेकाले विनाशकारी बाढीको सम्भावना बढेको जनाएका छन् । यस अघि सन् २०११ मा थाइल्यान्डमा बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो भने लाखौं घरहरू क्षतिग्रस्त भएका थिए ।