पार्टी र नेतृत्वविरुद्ध लाग्नेलाई कठोर कदम चाल्ने लिङ्देन पक्षको निष्कर्ष


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पक्षले आफूविरुद्ध लाग्ने असन्तुष्ट नेताहरूमाथि अझै कठोर कदम चाल्ने निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको लिङ्देन पक्षीय भेलामा उनले भने, ‘तपाईंहरूको साथ भयो भने म झन् निर्मम भएर अगाडि बढ्छु ।’
उनले पुरानो प्रवृत्तिसँग जुध्न कुनै पनि मूल्य चुकाउन तयार रहेको भन्दै काममा अवरोध पुर्याएकाले केही नेतालाई निलम्बन गरेको स्पष्ट पारे ।
उनले अगाडि थपे, “कारबाही गर्नुपर्यो भने उहाँहरूलाई झन् गाह्रो पर्ला।” लिङ्देन पक्षले चैतभित्रै महाधिवेशन गर्ने तयारी पनि गरेको छ ।
हालै मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती लगायतका नेताहरूलाई पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढेको थियो ।
यसैगरी, महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षले छुट्टै बैठकहरू गर्दै आएको छ, जुन बैठकमा लिङ्देन पक्षले खबर गरेको थिएन ।
यद्यपि, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भने पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् ।
Facebook Comments