पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ अन्तर्गतका पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत यस क्षेत्रमा विद्युत् विस्तार गरिएको हो ।
प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मुख्य लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको बताए । यहाँका करिब एक सय घरधुरीले अब केन्द्रीय लाइनबाट बिजुली सुविधा पाउनेछन् ।
बर्खायामको प्रतिकूल मौसम र सडक अवरुद्ध भए पनि निर्माण कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाले काम सम्पन्न गरेको हो ।
प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि म्याग्दीका १४ स्थानमा बिजुली विस्तार गर्न २२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यो आयोजनामार्फत यसअघि नै मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीहरूमा पनि विद्युत् विस्तार भइसकेको छ ।
Facebook Comments