उद्योगबाट विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dipak-khadka sir.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम तत्काल असुल गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लामो समयदेखि अल्झिएको यो मुद्दालाई छिटो समाधान गर्न भनेका हुन् ।

मन्त्री खड्काले विद्युत उत्पादनसँगै त्यसको सुरक्षित प्रवाह र महसुल असुली गर्ने क्षमता प्राधिकरणले विकास गर्नुपर्नेमा जोड दिए । 

सरकारले ऊर्जा क्षेत्रलाई मुलुकको समृद्धिको प्रमुख आधार मानेकोले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र यसलाई पूरा गर्न प्राधिकरणको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । 

साथै, गत आर्थिक वर्षमा प्राधिकरणले १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको र ४३४ मेगावाट विद्युत प्रणालीमा थप भएको पनि उनले बताए ।


Facebook Comments