कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण सम्पन्न

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sikta-sichai-nahar.jpg

कञ्चनपुर । कञ्चनपुरमा गएको आर्थिक वर्षमा तीन हजार ९०० मिटर नयाँ सिँचाइ कुलो निर्माण गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले ठेक्का र उपभोक्ता समितिको सहभागितामा यो काम सम्पन्न गरेको हो ।

डिभिजन प्रमुख महादेव विष्टका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा २ हजार ८७५ मिटर कुलो बनाइएको छ । त्यसैगरी, उपभोक्ता समितिको माध्यमबाट १ हजार २७ मिटर कुलो निर्माण भएको छ ।

यी नयाँ सिँचाइ संरचनाहरूले ७५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । यसका साथै, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा नयाँ पोखरी पनि निर्माण गरिएको छ ।

यस अवधिमा तटबन्ध निर्माणको काम पनि गरिएको छ, जसले आठ हेक्टर जमिनको संरक्षण भएको छ । तटबन्ध निर्माणमा ठेक्कामार्फत १ हजार १२४ मिटर र उपभोक्ता समितिमार्फत ४ हजार ८६८ मिटर काम भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा सिँचाइ र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यी परियोजनाहरूमा तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार रुपैयाँ र सिँचाइ संरचनामा २ करोड ६३ लाख २० हजार रुपैयाँ खर्च भएको छ ।


Facebook Comments