जुम्लाका स्थानीय तहको आन्तरिक आम्दानी निराशाजनक

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sthaniya taha.jpg

जुम्ला । जुम्लाका स्थानीय तहहरू आन्तरिक स्रोतबाट आम्दानी बढाउन असफल देखिएका छन् । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार, जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाको आन्तरिक आम्दानी घटेको छ भने पदाधिकारीको सुविधामा भने अस्वाभाविक रूपमा खर्च बढेको छ ।

प्रतिवेदनले औँल्याएअनुसार, तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि १९ लाख ३६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

सोही अवधिमा पदाधिकारीको सुविधामा भने ८१ लाख १२ हजार रुपैयाँ खर्च भएको छ, जुन आन्तरिक आम्दानीको ४४२.७९ प्रतिशत बढी हो । स्थानीय सरकार सञ्चालन ऐनले व्यवसाय कर उठाउनुपर्ने व्यवस्था गरे पनि तिला गाउँपालिकाले कुनै कर सङ्कलन गरेको देखिँदैन ।

त्यस्तै, सिंजा गाउँपालिकाले २५ लाख ८५ हजार, तातोपानी गाउँपालिकाले २३ लाख २६ हजार, हिमा गाउँपालिकाले १९ लाख ३६ हजार र गुठीचौर गाउँपालिकाले १९ लाख ४० हजार रुपैयाँ मात्र आन्तरिक आम्दानी गरेका छन् । गुठीचौर गाउँपालिकाले पदाधिकारीको सुविधामा भने आन्तरिक आम्दानीको २४०.१९ प्रतिशत बढी खर्च गरेको छ ।

कानुनी रूपमा नौ प्रकारका कर उठाउने अधिकार भए पनि जुम्लाका अधिकांश स्थानीय तहले यसको कार्यान्वयनमा चासो नदेखाएको महालेखाको प्रतिवेदनले देखाएको छ । यसले विकास निर्माण र सेवा प्रवाहका लागि स्थानीय तहहरू संघीय सरकारमा निर्भर रहनुपर्ने अवस्था सिर्जना गरेको छ ।

चन्दननाथ नगरपालिकाले भने १ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ, जसबाट कर सङ्कलनमा अन्य स्थानीय तहभन्दा यो केही अगाडि रहेको देखिन्छ ।


Facebook Comments