‘एक पालिका एक अस्पताल’ योजना अलपत्र


पर्वत । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ‘एक पालिका एक अस्पताल’ अभियान अन्तर्गत पर्वतका विभिन्न स्थानीय तहमा निर्माण थालिएका आधारभूत अस्पतालहरू ५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्लाका सात स्थानीय तहमध्ये कुनैमा पनि अस्पताल पूर्ण रूपमा तयार भई सेवा दिन थालेका छैनन् । जिल्लाको कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि आवश्यक स्रोतसाधनको अभावमा सञ्चालनमा ल्याउन सकिएको छैन ।
कुश्मा नगरपालिका–१२ को ठूली पोखरीमा करिब ५ करोड रुपैयाँ लागतमा १० शय्याको अस्पताल भवन बने पनि उपयोगमा आउन सकेको छैन । यस्तै, जलजला गाउँपालिकाको मल्लाजमा १० करोड रुपैयाँ लागतमा बनेको भवन पनि सञ्चालनविहीन छ ।
त्यसैगरी, मोदी गाउँपालिकामा ५ वर्षअघि १५ शय्याको अस्पताल शिलान्यास गरिए पनि जग्गा प्राप्तिको प्रक्रिया पूरा भएको छैन । फलेवास, महाशिला, पैयूँ र विहादी गाउँपालिकामा पनि अस्पताल निर्माणको काम अधुरै रहेको छ ।
कतिपय ठाउँमा ठेक्का सम्झौता भएर पनि कामले गति लिन सकेको छैन, भने कतिपय ठाउँमा जग्गाको समस्या समाधान भएको छैन । यसले ‘एक पालिका एक अस्पताल’ अभियानको कार्यान्वयनमा ढिलाइ भएको र ग्रामीण भेगका जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
Facebook Comments