नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM_U3A9853.jpg

काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आज भेटवार्ता भएको छ ।

दुई देशका प्रतिनिधिमण्डलबीच भएको उक्त भेटमा दुवै मुलुकमा रहेको धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना र आपसी लगानीका विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार, भेटमा दुई पक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो । दुवै देशको सम्बन्ध मित्रता र सद्भावनाका साथै सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अगाडि बढ्ने विषयमा कुराकानी भएको छ ।

भेटका क्रममा दुई मुलुकबीच हवाई उडान सम्बन्ध विस्तार गर्ने र मन्त्रालय तथा विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति पनि भएको छ । भियतनामको उच्च आर्थिक वृद्धिदरबाट नेपालले सिक्न सक्ने सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।

भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ समेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति सुआन नेपालका उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपाल आइपुगेकी हुन् र उनी भदौ ९ गते स्वदेश फर्किने तालिका छ ।


Facebook Comments