मधेसका २५ पालिकामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण हुँदै

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kirsi pasupanxi mantralaya.jpg

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न २५ वटा पालिकाहरूमा सुविधासम्पन्न कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण भइरहेका छन् । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा कुल ७५ करोड रुपैयाँको लागतमा यी केन्द्रहरू बनाउन लागेको हो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका कार्यालय प्रमुख राजेश साहका अनुसार, हरेक भवन निर्माणमा ३ देखि ५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यी दुईतले भवनहरूमा कृषि तथा पशुका लागि छुट्टाछुट्टै उपचार कक्ष र अत्याधुनिक प्रयोगशाला हुनेछ । 

यसबाट माटो परीक्षण, पशुमा लाग्ने रोगको उपचार र गोबर तथा दूधजन्य पदार्थको परीक्षणसमेत गरिनेछ । यी केन्द्रहरूमा सुपथ मूल्यमा औषधि बिक्रीका लागि दुईवटा पसल पनि रहनेछन् । हालसम्म २५ मध्ये १४ वटा भवनको निर्माण कार्य सकिएको छ ।

यसै क्रममा, जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरियामा निर्माण भएको एक भवन भ्याटसहित २ करोड २५ लाख रुपैयाँमा बनेको र सो भवन जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख साहले जानकारी दिए ।


Facebook Comments