शिक्षक महासंघको पहिलो चरणको आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आज प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप समेत लगाएका छन् ।
महासंघले भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने भएकाे छ। भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन हुने छ, जसमा धर्ना, अवरोध र विरोध प्रदर्शन हुने महासंघले जनाएको छ।
Facebook Comments