अखाद्य वस्तु उत्पादन गर्ने ४३ उद्योगविरुद्ध मुद्दा दायर

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68afebaae244e.png

काठमाडौं । गुणस्तरहीन खाद्य सामग्री उत्पादन र बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ वटा उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले बारा र पर्साका विभिन्न अदालत तथा जिल्ला प्रशासन कार्यालयहरूमा मुद्दा दायर गरेको हो । कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार, पाँच जना व्यवसायीविरुद्ध बारा जिल्ला अदालतमा र एक जना व्यवसायीविरुद्ध पर्सा जिल्ला अदालतमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

सोही आर्थिक वर्षमा बाराका २६ जना र पर्साका दुई जना व्यापारीविरुद्ध जिल्ला प्रशासन कार्यालयहरूमा पनि मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएका उद्योगहरूमा तेल, घ्यूजन्य पदार्थ, खाद्यान्न, मिठाई, दूध, र दाना पदार्थ उत्पादन गर्ने उद्योगहरू मुख्य रहेका छन् ।

कार्यालयले सो अवधिमा ५६ वटा होटल, रेष्टुरेन्ट र आठवटा हाटबजारको अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका, सडेगलेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको थियो ।


Facebook Comments