मध्यराति बालुवाटारबाट ओलीले भने– ‘विद्या भण्डारी हाम्रो सम्पत्ति’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्य र बागमती प्रदेशका नेताहरूलाई विशेष प्रशिक्षण दिँदै पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिएका छन् ।
बुधबार मध्यरातिसम्म बालुवाटारमा भएको छलफलमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनको पक्षमा लागेका नेताहरूलाई लक्षित गरी कडा टिप्पणी गरेका छन् ।
ओलीले भण्डारीमाथि ‘पार्टी चलाउन सक्नुहुन्न’ भन्दै चुनाव लड्ने इच्छा नदेखाउन चेतावनी दिए । उनले भने, ‘राष्ट्रपति भएको व्यक्तिले अशोभनीय गतिविधि गर्नुभएन। पार्टीको पक्षमा नरहेकालाई भेला गर्दै हिँड्नुभएको छ ।’ उनले भण्डारीलाई च्यासलले सदस्यता खायो’ भन्ने आरोपको पनि खण्डन गरे ।
ओलीले आफूले भण्डारीलाई सबैभन्दा बढी सम्मान गरेको तर अहिले आफैं अपमानित हुनुपरेको गुनासो गरे । यद्यपि, उनले भण्डारीलाई ‘हाम्रो सम्पत्ति’ भएको बताउँदै व्यक्तिभन्दा आन्दोलन महत्त्वपूर्ण रहेकोमा जोड दिए ।
उनले विधान महाधिवेशनमा फरक मत राख्ने कुनै ठाउँ नभएको स्पष्ट पारे । विधान महाधिवेशनलाई एकताको अधिवेशन बनाउनुपर्ने भन्दै अन्यथा गरे महाधिवेशनमा हिसाबकिताब गरिने चेतावनी दिए ।
उमेर हद र २ वर्षे कार्यकालको विषयमा उनले आफू स्वस्थ रहेको र साथीहरूको चाहना अनुसार यी प्रावधान आवश्यक नरहेको बताए ।
Facebook Comments