भोजपुरका किसान ड्रागन खेतीतर्फ आकर्षित

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68afef1351b29.jpg

भोजपुर । सिँचाइको अभाव र बाँदरको समस्याका कारण बाली लगाउन नसकेपछि भोजपुरका किसानहरू ड्रागन फ्रुटको व्यावसायिक खेतीमा आकर्षित भएका छन् । यसबाट उनीहरूले राम्रो आम्दानी गर्न सकेको बताएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–८, गोगने सल्लेनीका किसान शम्भु नेपालले आफ्नो ४२ रोपनी बाँझो जमिनमा ‘दानाबोट फलफूल तथा कृषि फार्म’ दर्ता गरेर ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।

उनले यस खेतीबाट वार्षिक १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने बताए । नेपालका अनुसार, ड्रागन फ्रुटको बोट रोपेको दुई वर्षमै आम्दानी दिन सुरु गर्छ । यद्यपि, उनले बजार व्यवस्थापन सहज नभएको गुनासो पनि गरे ।

अर्का किसान हरि गौतमले बाँदरले बालीनाली नष्ट गरेपछि खेतीयोग्य जमिन बाँझिदै गएको बताए । उनले बाँदरले नखाने ड्रागन फ्रुट, कागती, टिम्मुर र मकाडियानटलगायतका नगदे बाली तथा फलफूल खेतीतर्फ किसानको आकर्षण बढेको उल्लेख गरे ।

आफ्नै जमिनमा व्यावसायिक खेती गरेमा विदेशमा कमाइने पैसा स्वदेशमै कमाउन सकिने गौतमको भनाइ छ । उनले बाँझो जमिनको सदुपयोगका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।


Facebook Comments