नेपाल हुँदै बिहार प्रवेश गरेका तीन आतङ्ककारीको पहिचान


एजेन्सी । पाकिस्तानका तीन जना आतङ्कवादीहरू नेपाल हुँदै भारतको बिहार राज्यमा प्रवेश गरेको सूचनापछि बिहार प्रहरीले उच्च सतर्कता जारी गरेको छ ।
प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदसँग सम्बन्धित ती तीन जनाको स्केचसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार, ती तीन जनाको पहिचान खुलेको छ । हसनैन अली (रावलपिण्डी), आदिल हुसैन (उमरकोट) र मोहम्मद उस्मान (बहावलपुर) हुन् ।
उनीहरू साउनको दोस्रो हप्तामा काठमाडौं आएको र त्यसपछि गत हप्ता बिहार प्रवेश गरेको आशङ्का गरिएको छ ।
आसन्न बिहार विधानसभा चुनावलाई लक्षित गरी आतङ्कवादी गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सीमावर्ती जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीलाई सतर्क रहन निर्देशन दिइएको छ भने उनीहरूको राहदानी (पासपोर्ट) विवरण पनि स्थानीय प्रशासनलाई पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
Facebook Comments