व्यापार वार्ताका लागि चिनियाँ प्रतिनिधिमण्डल अमेरिका जाँदै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b04603c4034.jpg

काठमाडौं । महिनौँ लामो व्यापारिक तनावपछि चीनले यसै साता व्यापार वार्ताका लागि एक प्रतिनिधिमण्डल अमेरिका पठाउने भएको छ ।

चीनका अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा वाणिज्य उपमन्त्री ली चेङगाङ अमेरिकी अधिकारीहरूसँग छलफल गर्न वाशिङ्टन जाने कार्यक्रम रहेको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङकियानले बताएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तनाव गत अप्रिलदेखि केही कम भएको छ। यसअघि दुवै देशले एक–अर्काको निर्यातमा प्रतिशोधात्मक करहरू लगाउँदा आपूर्ति श्रृङ्खला प्रभावित भएको थियो । 

अहिले दुवै पक्ष वार्ताबाट समस्या समाधान गर्न इच्छुक देखिएका छन् । अमेरिकाले आफ्नो तर्फबाट कर ३० प्रतिशत र चीनले १० प्रतिशतमा अस्थायी रूपमा घटाएका छन् । प्रवक्ता हेले ’समान संवाद र परामर्श’ मार्फत समाधान खोज्न चीन तयार रहेको बताए ।

यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै चीन भ्रमण गर्ने बताएको केही दिनपछि हुन लागेको हो । यस महिना दुवै देशले एक–अर्काको निर्यातमा लगाइएका उच्च करहरूलाई थप ९० दिनसम्म स्थगित गर्न पनि सहमति जनाएका छन् ।

यसले व्यापार घाटा कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा दुई देशबीचको सम्बन्ध सुधार हुन सक्छ ।


Facebook Comments