मकैबाली अनुगमन गर्न किसानले मन्त्री बोलाएपछि...

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b52960a0b62.jpg

दैलेख।  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह खेतबारीमै पुगरे मकैबालीको अनुगमन गरेका छन् । किसानले रोग र कीराले मकैबाली नष्ट गरेको गुनासो गरेपछि गरेपछि उनले अनुगमन थालेका हुन्। 
 
दैलेखेको गुराँस गाउँपालिका–४ साल्तडाका किसानले मकैमा रोग लागेको जनाउँदै फोन गरेका थिए । किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाह आइतवार कृषि विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानका लागि अनुगमन गर्न पुगेका हुन् ।
 
अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भाव्य क्षेत्र भएको जनाउँदै भने, “मन्त्रालयलाई जानकारी हुने वित्तिकै बारीमा प्राविधिकहरुको साथमा सरकार उपस्थित भएर किसानका समस्या समाधानका निम्ति अनुगमन गरेका छौँ । सबै सरकारले गरी दिओस् भन्ने मनोविज्ञान नराखी सबैले आफ्नो कर्तव्य अनुरुपका काम किसानले गर्नुपर्छ । सरकारले हुनेसम्मको सहयोग गर्छ नै ।” 
 
रासायनिक मलको प्रयोगको कारण माटोको उर्बरा शक्ति ह्रास हुनुको साथै अम्लियपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्था भएको उनले उल्लेख गरे । 
 
मन्त्री शाहसँगै अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले मकैमा जटिल प्रकारको रोग देखिएको बताए । उनले मकैमा थेग्ले, घोगा र काण्डमा कुइने रोग देखिनुका साथै खाद्य तत्वको कमी भएको जनाए। 
 
उनले रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउँदै रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाएर खेतबारी सरसफाइ गर्ने र प्रयाप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए । 
 
किसान तेजबहादुर शाहीले आठ हेक्टरभन्दा बढी क्षेत्रफल रहेको साल्तडामा पाँच हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताउँदै सो क्षेत्रफलमा लगाइएको मकैमा रोग लागेर सखाप पारेको जानकारी दिए। साल्तडामा मकैको बीउ उत्पादनका लागि पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेको उहाँले दुखेसो व्यक्त गरे।
 
वार्षिक आठ टनभन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत र यसवर्ष रोग कीरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको किसान शाहीले जनाए। अनुगमनमा पुग्नुभएका मन्त्रीलाई किसानले उक्त समस्या समाधानका निम्ति मागपत्र दिएका थिए । मागपत्र ग्रहण गर्दै मन्त्री शाहले प्रदेश सरकारले साल्तडा सिँचाइका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र मागपत्रमा भएका विषयहरुलाई आवश्यकताका आधारमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

 


Facebook Comments