चिया मजदुरको पारिश्रमिक बढ्यो, रोजगारदाता र युनियनबीच सहमति


झापा । लामो समयको वार्तापछि झापामा चिया मजदुरहरूको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनबीच भएको नवौँ चरणको वार्तापछि मजदुरको न्यूनतम पारिश्रमिक बढाउने निर्णयमा दुवै पक्ष सहमत भएका हुन् ।
नयाँ सहमतिअनुसार, चिया श्रमिकले अब दैनिक ५ सय ६५ रुपैयाँ र मासिक १५ हजार ६ सय ९९ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् । यसअघि उनीहरूले दैनिक ५ सय र मासिक १३ हजार ८ सय ९३ रुपैयाँ पाउँदै आएका थिए ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले दिएको जानकारीअनुसार, नयाँ पारिश्रमिक २०८२ साउन १ गतेदेखि नै लागू हुनेछ ।
यस सहमतिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिनेछ, र समितिले सोही आधारमा निर्णय गरी राजपत्रमा प्रकाशित गर्नेछ ।
पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकहरूले साउन १८ गतेदेखि आन्दोलन गर्दै आएका थिए । यो सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुङ्गिएको छ ।
सहमतिअनुसार, चिया बगानमा कार्यरत नियमित मजदुरहरूलाई आगामी असोज मसान्त सम्ममा सामाजिक सुरक्षा कोषमा समेट्न लगत सङ्कलन गरिने पनि उल्लेख छ ।
Facebook Comments