कर्णाली राजमार्ग अवरुद्ध, स्याउ व्यापारीलाई समस्या


कर्णाली । कालीकोटको शुभकालिका गाउँपालिका–१, गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । यसले गर्दा जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगायतका स्थानमा जाँदै गरेका मालवाहक ट्रकहरू बाटोमै रोकिएका छन् ।
जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, करिब २३ वटा ट्रक बाटोमै रोकिएका छन्, जसले गर्दा करिब १३ करोड रुपैयाँ बराबरको १८४ मेट्रिक टन स्याउ कुहिने जोखिम बढेको छ । बाटो बन्द हुँदा स्याउ व्यापारीहरू र यात्रुहरूले निकै सास्ती भोगिरहेका छन् ।
जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले पहिरोमा खसेका ठूला ढुङ्गा फुटाउन नसकिएको बताएका छन् । ढुङ्गा फुटाउनका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । लगातारको वर्षाका कारण सडक खुलाउने काममा बाधा पुगेको छ ।
Facebook Comments