फोहर व्यवस्थापनमा अन्तरपालिका सहकार्यको आवश्यकता

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b698441ee7d.jpeg

गण्डकी । फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जन र रोजगारी सिर्जना गर्न स्थानीय तहहरूबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । 

हालै पोखरा महानगरपालिकाको टोलीले दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनपछि यस्तो निष्कर्ष निकालिएको हो । 

राप्ती गाउँपालिका–२ का वडाध्यक्ष पहलमान चौधरीले फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहे पनि स्थानीय समुदायको सहयोगमा यसलाई अगाडि बढाइएको बताए । 

राप्तीले देउखुरीको पुड्यपुरमा इको फेमिली नेपालको प्राविधिक सहयोगमा दुई वर्षअघिदेखि फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।

इको फेमिलीका सञ्चालक रूपेशराज कुँवरका अनुसार, यस उद्योगमा ३ करोड रुपैयाँ लगानी भएको छ । यहाँ प्लास्टिकजन्य फोहर प्रशोधन गरी ब्रिक्स, टायल, लम्बरलगायतका वस्तुहरू उत्पादन गरिन्छ ।

कुहिने फोहरलाई कम्पोस्ट मलमा परिणत गरिन्छ भने नकुहिने प्लास्टिकजन्य फोहरबाट विभिन्न सामानहरू बनाइन्छ । यसले काम नलाग्ने भनी फालिएका वस्तुहरूलाई स्रोतका रूपमा प्रयोग गरी आयआर्जन सिर्जना गरेको छ ।

प्रशोधन उद्योगमा हाल २१ जना श्रमिक कार्यरत छन्, र यहाँ उत्पादित वस्तुहरू बजारमा गइरहेका छन् ।

पोखरा महानगरपालिकाले पनि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा ’रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरिरहेको छ ।

यो अवलोकन भ्रमणको उद्देश्य नमूनायोग्य काम गरिरहेका स्थानीय तहबाट सीप र अनुभव आदानप्रदान गर्नु रहेको छ । पोखरा महानगरले आफ्ना १३६ वटा टोल संस्थामा जनचेतना अभिवृद्धि गर्दै घरघरमा फोहर छुट्याउने किट वितरण गरेको छ ।


Facebook Comments