प्रधानमन्त्री ओली विरुद्धको रिट पूर्ण इजलासमा


काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको छ ।
न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको हो ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्रीले सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी ले समर्थन फिर्ता लिएको ३० दिनभित्र संसदमा विश्वासको मत नलिएकाले सरकारको वैधता समाप्त भएको दाबी गरिएको छ ।
सर्वोच्च अदालतले यस विषयको सुनुवाइका लागि प्रधानमन्त्रीलाई समर्थन जनाएका दलहरूको असार २८ गतेको पत्र, विश्वासको मत लिँदाको विवरण, र नागरिक उन्मुक्ति पार्टी तथा जसपाले सरकारलाई दिएको समर्थनको पत्रसहितका सम्पूर्ण कागजातहरू झिकाउने आदेश गरेको छ ।
Facebook Comments