कार्यवाहक प्रधानमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच आज भेटवार्ता भएको छ ।
भेटमा विश्व बैंक र सहरी विकास मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
भेटका क्रममा विशेषगरी बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना, काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन र नदी स्वच्छता जस्ता विषयहरूमा छलफल भएको हो ।
विश्व बैंकका उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो पक्ष भएको बताउँदै सहकार्यका लागि बैंक सकारात्मक रहेको जानकारी दिए ।
उनले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण नियन्त्रण र नदी तथा वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकासका आयोजनाहरूमा निरन्तर सहयोगका लागि विश्व बैंकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
Facebook Comments