चीन–रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ : पुटिन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6c34bdd243.jpg

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् ।

यो भेट चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि भएको हो, जसमा उत्तर कोरियाली नेता किम जोङ उनसहित दर्जनौँ विश्व नेताहरू सहभागी हुँदैछन् ।

पुटिनले दुई देशबीचको घनिष्ठ संवादले रुस–चीन सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट पारेको बताए । उनले विश्वव्यापी अशान्ति र पश्चिमी सरकारहरूको आलोचना गर्दै युद्धको समयमा पनि रुस र चीन सधैँ एकसाथ रहेको उल्लेख गरे ।

यसैगरी, राष्ट्रपति सीले पनि अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षणलाई चीन–रुस सम्बन्धले सफलतापूर्वक सामना गरेको बताए । उनले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्व व्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको जानकारी दिए ।

सन् २०२२ मा ’सीमाविहीन साझेदारी’ घोषणा गरेपछि रुस र चीनबीचको सैन्य तथा व्यापारिक सम्बन्ध थप प्रगाढ बनेको छ । चीनले युक्रेन युद्धमा आफू तटस्थ रहेको दाबी गर्दै आए पनि पश्चिमी मुलुकहरूले भने चीनमाथि रुसलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाउने गरेका छन् ।


Facebook Comments