भरतपुरका युवाले सुरु गरे सजावटका फूलको व्यावसायिक खेती

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6dc038410d.jpg

चितवन । भरतपुरका एक युवाले सजावटमा प्रयोग हुने फूलको व्यावसायिक खेती सुरु गरेका छन् । भरतपुर महानगरपालिका–७ का शुलभ श्रेष्ठले हाल कामिनी (बज्रदन्ती) र जिप्सी फूलको खेतीलाई व्यावसायिक रूपमा विस्तार गरेका हुन् । 

यी फूलहरू विवाह, व्रतबन्ध, भोज र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा सजावटका लागि प्रयोग गरिन्छ । गत १३ वर्षदेखि पुष्प व्यवसायमा संलग्न श्रेष्ठले आफ्नो बुबाको सयपत्री फूलको व्यवसायलाई परिस्कृत गर्दै यो नयाँ काम थालेका हुन् । 

कोरोना महामारीको समयमा काठमाडौंमा विज्ञापनको ’कास्टिङ डाइरेक्टर’को काम छाडेर घर फर्केपछि फूलको बढ्दो माग देखेर उनी यसै पेसामा लागेका थिए । हाल यहाँ उत्पादित फूलहरू चितवनका साथै काठमाडौँ, पोखरा, वीरगञ्ज, बुटवल र दाङसम्म पठाइन्छ । 

बजारमा कामिनी फूल प्रति हाँगा ८० देखि १०० रुपैयाँ र जिप्सी फूल २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको श्रेष्ठले बताए । ३८ वर्षीय श्रेष्ठले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूलहरू लगाएका छन् ।

उनले आफ्नो व्यवसायबाट परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी पनि दिएका छन् । श्रेष्ठका अनुसार, अहिले फूलको प्रयोग बढेकाले यस व्यवसायबाट राम्रो सफलता हासिल गर्न सकिने प्रेरणा मिलेको छ ।


Facebook Comments