सरकारले दिएको म्याद सकियो, सम्पर्कमा आएनन् फेसबुक लगायतका सामाजिक सञ्जाल


काठमाडौं । सरकारले नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको समय सकिएको छ । गएको भदौ १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दे सूचीकरण हुन दिएको ७ दिनको समय बुधबार मध्यरातिदेखि सकिएको हो । बुधबार मध्यरातिसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमै नआएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गर्दा पनि फेसबुक, एक्स, युट्युबजस्ता सामाजिक सञ्जालहरु सूचीकरण हुन आउन मानेका छैनन् । यो विषयमा आवश्यक निर्णय लिन आज मन्त्रालयमा बैठक बस्दैछ । आजको छलफलपछि मात्रै के निर्णय लिने भन्ने थाहा हुने मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए । सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन निर्देशन दिने निर्णय गरिसकेको छ ।
हाल टिकटक, भाइबर, निम्बज, विटक र पोप्पोलाइभ सूचीकृत भइसकेका छन् । टेलिग्राममाथि सम्पत्ति शुद्धीकरणको माध्यम बनेको उजुरी बढेपछि सरकारले गएको साउन २ गते प्रतिबन्ध लगाएको थियो । अहिले टेलिग्राम पनि सूचीकरण गरेर प्रतिबन्ध फुकुवा गराउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नसमेत आह्वान गरेको थियो । सात दिनभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लाटफर्मलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको जनाएको थियो ।
यो पनि पढ्नुहोस्
सामाजिक सञ्जाल दर्ता ‘अल्टिमेटम’: प्रतिबन्धबाट हुने जोखिम मोल्न सरकार तयार हो ?
Facebook Comments