२८ वर्ष पुरानो घरपझोङ गाउँपालिकाको ‘इको म्युजियम’ ओझेलमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b9223a147d3.jpg

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो ।

सुरुआती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो । दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को महाभूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो । पुनःनिर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो ।

तत्पश्चात् गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ । हाल संस्थाले दुई जना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिए । उचित व्यवस्थापनको अभावमा स्थापनाको २८ वर्ष पुग्दा म्युजियम ओझेलमा पर्न थालेको उनको भनाइ छ । 

व्यवस्थापन र आवश्यक प्रचार प्रसारको अभावमा अपेक्षा गरिएअनुरुप पर्यटक भित्र्याउन नसकिएको धेरैको गुनासो छ।  बर्सेनि वैशाख, जेठ, असोज र कात्तिक महिनामा भने यहाँ आउनेको सङ्ख्या केही बढ्ने गरेको गुरुङले बताए। 

“केही प्रयास नभएका होइनन्, म्युजियमको विशेषता झल्काउने ‘ब्रोसर’ निर्माण गरी पर्यटन व्यवसायीलाई वितरण गरिएको छ । विभिन्न खोजअनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामग्रीहरू व्यवस्थित गरिएका छन् । म्युजियमभित्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामग्रीहरु राखिएका छन्”, गुरुङले भने,“यहाँको कृषि, पर्यटन, जैविक विविधतासँगै प्राकृतिक जडीबुटी, खनिज तथा वनस्पति, शालग्राम शिला, लाइब्रेरी, वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । अब यसको व्यापक प्रचारको खाँचो छ ।”

यसैगरी, यहाँ मुस्ताङको प्राचीन धर्मसंस्कृति झल्काउनेदेखि एकाइ कावागुचीका तस्बिर तथा अभिलेख सङ्ग्रहित गरिएका छन् । एउटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउन सकिने भएकाले यहाँको इको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि आभदायी हुने स्थानीयहरू बताउँछन् । 

आवश्यक प्रचार प्रसार गर्न सके मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरू इको म्युजियम हेर्न आउने अवस्था बन्ने छ । 

पछिल्लो समय पुथाङ विमानस्थल नजिक दक्षिण÷पश्चिमको १६ रोपनी भिरालो स्थामा रहेको यस इको म्युजियमसम्म जान गाउँपालिकाले रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ । म्युजियमको परिसरमा  स्याउलगायत सल्ला, धूपीका बिरुवा रोपण गरिएका छन् । पुथाङ विमानस्थलबाट पैदलै १० मिनेटमा पुग्न सकिने अवस्था छ ।  


Facebook Comments