१०२ वर्षको उमेरमा माउन्ट फुजी आरोहण गर्दै अकुजावाले बनाए विश्व कीर्तिमान
मेयरसाप डेस्क
|
२०८२ भदौ २० गते २३:१०
टोकियो । जापानका १०२ वर्षीय कोकिची अकुजावा माउन्ट फुजी आरोहण गरेर संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । अगस्टको सुरुमा गिनिज वल्र्ड रेकड्र्सले प्रमाणित गरेको यो उपलब्धि हासिल गर्न उनले धेरै चुनौती पार गर्नुपरेको थियो ।
एशोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा अकुजावाले भने, ‘म साँच्चै आधा बाटोमै छोड्ने सोचमा पुगेको थिएँ, तर साथीहरूको प्रोत्साहनले गर्दा मात्र यो सम्भव भयो । धेरै मानिसको सहयोगबिना म सफल हुन सक्दिनथें ।’
अकुजावाले आफ्नी ७० वर्षीया छोरी, नातिनी र स्थानीय पर्वतारोहण क्लबका सदस्यहरूसँगै माउन्ट फुजीको ३,७७६ मिटर अग्लो शिखरमा पुगेका थिए । टोलीले शिखरमा पुग्नुअघि दुई रात शिविरमा बिताएको थियो ।
यो अकुजावाको पहिलो रेकर्ड भने होइन। यसअघि उनी ९६ वर्षको उमेरमा फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या र अन्य शारीरिक चोटपटकका बाबजुद पनि आफ्नो यात्रालाई निरन्तरता दिए ।
आरोहणअघि उनले तीन महिनासम्म विशेष तालिम लिए । उनी बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्थे र हरेक हप्ता एकपटक नजिकका पहाडहरू चढ्थे ।
अकुजावाले युवावस्थादेखि नै पर्वत चढ्न सुरु गरेका थिए । ‘म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ,’ उनले भने । उनले पर्वतारोहणले मानिसहरूलाई जोड्ने र साथी बनाउन सजिलो हुने बताए ।
अन्तिम आरोहणको सङ्केत
भविष्यमा फेरि माउन्ट फुजी चढ्ने योजनाबारे सोधिएको प्रश्नमा अकुजावाले भने, ‘म सधैँ चढिरहन चाहन्छु, तर अब यो सम्भव नहोला ।’ उनले यसपटकको आरोहण अघिल्ला सबैभन्दा चुनौतीपूर्ण लागेको र अरूको सहयोगले मात्र सफल भएको बताए ।
हाल उनी बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्छन् र चित्रकला सिकाउँछन् । उनी पर्वतारोहण र चित्रकला दुवैलाई समान समर्पण र शान्ति दिने गतिविधि मान्छन् ।
Facebook Comments