एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेका कार्यकर्ता र समर्थकहरू सक्रिय भएर जनतामाझ गएमा बहुमत हासिल गर्न सकिने बताए ।
उनले भने, ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन।’
प्रधानमन्त्री समेत रहेका ओलीले आगामी निर्वाचनमा धाँधली हुन नदिने पनि ठोकुवा गरे । उनले भने, ‘हामी सरकारमा छौँ। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौँ। निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’
Facebook Comments