निर्माण कार्य गुणस्तरीय र समयमै सक्नुपर्छ : गृहमन्त्री लेखक


कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरूलाई पूर्वाधार निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । कञ्चनपुरमा आयोजित निर्माण व्यवसायी सङ्घको साधारणसभालाई सम्बोधन गर्दै उनले समयमै काम नसकिँदा आयोजनाको लागत बढ्ने गरेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ। देशभरिका विकास निर्माणका काममा चन्दा असुली र धम्कीजस्ता गतिविधि सरकारले सहन गर्दैन ।’
उनले सरकारले व्यवसायीहरूलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिने पनि बताए । उनले एउटै आयोजनाको लागत २०० प्रतिशतसम्म बढेको र यसमा निर्माण व्यवसायी मात्रै दोषी नभई सरकारी निकायको पनि क्षमता वृद्धि आवश्यक रहेको औँल्याए ।
वर्तमान सरकारले नीतिगत र कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने प्राथमिकता दिएको लेखकले जानकारी दिए । सरकारले निर्माण व्यवसायीहरूलाई वर्षौंदेखि तिर्न बाँकी रहेको ३५ अर्ब रुपैयाँ भुक्तानी गरिरहेको उनी बताउँछन् ।
Facebook Comments