देशलाई हेपेको कदापि सहन सकिँदैन : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd55a5563a6.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहन सकिने भए पनि देशलाई हेपेको कदापि नसहने बताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने बताए ।

उनले सामाजिक सञ्जालको विरोधमा एमाले नरहेको स्पष्ट पार्दै नेपालमा व्यवसाय गरेर कानुन नमान्ने कुरा सह्य नहुने बताए । उनले ’केही मानिसहरू विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्,’ भन्दै स्वतन्त्र नभएका बुद्धिजीवीहरूले समाजलाई प्रभावित गर्न खोजेको आरोप लगाए ।

अध्यक्ष ओलीले ‘जेन जी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको भए पनि यो पुस्ताले देशलाई माया गर्ने दाबी गरे । ‘चार जना मानिसको रोजगारीभन्दा देशको स्वाधीनता ठूलो हो,’ भन्दै देशको कानुन नमान्नेलाई छुट नदिइने बताए ।

अध्यक्ष ओलीले असमानता कम गर्दै विभेद अन्त्य गर्ने पार्टीको नीति रहेको र ‘मिसन ८४’ को अभिभारा पूरा गर्न पार्टी अघि बढिरहेको पनि जानकारी दिए ।


Facebook Comments