ग्राउण्ड रिपोर्ट : जेनजी प्रदर्शनमा जान सक्थ्यो ४–५ सय जनाको ज्यान !

हवाई फायरदेखि गोलीकाण्डसम्म

User Image जनेश ठकुल्ला | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2b9c3080.jpg

काठमाडौं । आज काठमाडौंमा जेनजीद्वारा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको प्रदर्शन हिंसामा परिणत हुँदा यो रिपोर्ट बनाउँदासम्म १५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । अस्पतालहरूमा घाइतेहरूको हेरचाह गर्ने मान्छे नभएर अप्ठ्यारो परेको छ । काठमाडौंको नयाँ बानेश्वरमा आज जे भयो, त्यो सामान्य प्रदर्शन थिएन । शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनले कसरी हिंसात्मक रूप लियो र यसको परिणाम के भयो भन्ने कुरा मैले यहाँ विस्तृत रूपमा उल्लेख गरेको छु ।

आज बिहान करिब ११ बजे सहकर्मी गौरव थापासँगै म ललितपुरको सातदोबाटोस्थित अफिसबाट रिपोर्टिङका लागि नयाँ बानेश्वरतर्फ लागेको थिएँ । म नयाँ बानेश्वर पुग्दा प्रदर्शनकारीहरूले संसद भवन आसपासको  निषेधित क्षेत्र तोडिसकेका थिए । नयाँ बानेश्वर पुग्ने बित्तिकै प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको थियो । प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि मात्रै प्रहरीले पानीको फोहोरा हानेको हो, जसको म प्रत्यक्षदर्शी हुँ । तर, प्रदर्शनकारीहरू पानीको फोहोरा छल्दै अगाडी बढे र संसद भवनको वरिपरी भरिए । उनीहरूले संसद भवनका तीनवटै गेटबाट भित्र प्रवेश गर्ने प्रयास पनि गरे । यही क्रममा कतिपय प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काउन थाले ।

प्रदर्शनकारीले पर्खाल भत्काएर भित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले पहिलो पटक अश्रुग्यास प्रहार गर्यो । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी तितरबितर हुनुको सट्टा झन् आक्रोशित भए र प्रदर्शनले एकाएक उग्र रूप लियो । प्रदर्शनकारीले संसद् भवनको चारैतिरको पर्खाल भत्काए र बाहिरबाट ढुंगामुढा तथा पानीका बोतलहरू भित्र फ्याक्न थाले । त्यतिबेलासम्म पनि प्रहरी संयमित देखिन्थे । 

जब ४०–५० जनाको समूह पर्खाल भत्काएर संसद भवनभित्रै प्रवेश गर्यो, तब प्रहरीले हवाइ फायर सुरू गर्यो । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन र स्थितिलाई थप बिग्रन नदिन हवाई फायर गरेको थियो । तर, प्रदर्शनकारीहरू पछि हट्नुको सट्टा झनै प्रहरीसँग मुठभेड गर्न थाले ।

संसद भवनको चारैतिरको पर्खाल भत्काएपछि प्रहरीले गोली चलाउन सुरु गरेको थियो । यो घटनामा प्रदर्शनकारीहरू पछि नहट्नु नै घटना अझ बिथोलिन थाल्नु थियो । यस्तो देखिन्थ्यो, जेनजी जसरी पनि संसद भवन कब्जको प्रयासमा थिए । मैले प्रत्यक्ष देखेअनुसार अश्रु ग्यास प्रहार, पानीको फोहोरा प्रहार र हवाई फायरपछि त झन् प्रदर्शनकारी उग्र  बने । प्रदर्शनस्थल रणमैदानजस्तै भयो । युवाहरू गोली लागेर ढल्न थाले ।

जेनजीहरूको आन्दोलन नरोकिँदै सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दलका नेता र अभियन्ताहरूले अनेकन टिकाटिप्पणी गर्न थालेका छन् । तर, मैले प्रत्यक्ष रूपमा गरेको रिपोर्टिङका क्रममा देखेका कुराहरू सामाजिक सञ्जालमा फैलिएका हल्लाभन्दा धेरै फरक छन् ।

आजको मेरो अनुभवले भन्छ, यो हिंसाको जिम्मेवारी सरकार र प्रदर्शनकारी दुवैको हो । प्रदर्शनकारी संयमित हुन सेकेको देखिएन् । उता सरकारले पनि संसदै छिरिसकेपछि जेनजीहरूलाई अत्याधिक बल प्रयोग गर्न थाल्यो । प्रहरीले जति बल प्रयोग गर्दै गयो, प्रदर्शनकारी त्यति नै बिचलित र उग्र हुँदै गए । आन्दोलनको नेतृत्व गर्ने समूह पनि खासै देखिएन ।

प्रदर्शनकारी जुन रूपमा प्रस्तुत भएका थिए, त्यस अनुसार आज प्रहरीले सुरूमा संयमता नअपनाएको भए मलाई लाग्छ, ४–५ सय जनाको ज्यान जान्थ्यो । किनभने प्रदर्शनकारीले निषेधाज्ञा तोड्दा र संसद भवनका पर्खाल भत्काउँदा पनि गोली चलाउन आदेश दिइएको थिएन । प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरेपछि मात्रै प्रहरीले पहिलो पटक हवाई फायर र गोली चलाएको हो ।

दिउँसो १२ बजेपछि प्रशासनले कफ्र्यू पनि लगायो । तर प्रदर्शनकारीले कफ्र्यूको पनि पालना गरेनन्, जसका कारण आज निर्दोष नागरिकले ज्यान गुमाउनु पर्यो । आजको आन्दोलन हेर्दा लाग्थ्यो, जेनजी समूह अहिले सरकार चलाउनेहरूसँग चरम असन्तुष्ट छन् । उनीहरू यो सरकारलाई बंगलादेशमा जस्तै लखेट्न तयार भएर आन्दोलनमा गएको जस्तो देखिन्थो ।

आजको यो आन्दोलनपछि त झन देशभर नै जेनजी पुस्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति चरम निरास भएको देखिन्छ । अहिलेको सत्ता नै फेर्ने तयारीमा यो आन्दोलन अघि बढेको जस्तो देखिन्छ । यसको व्यवस्थापन अहिलेको सरकारले कसरी गर्छ, त्यो भने मन्त्रीपरिषद्ले अब गर्ने निर्णयले देखाउँछ ।


Facebook Comments