सरकारबाट बाहिरिँदै शेखर समूह, ४ जना मन्त्रीले आजै राजीनामा दिने


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् । जेनजी समूहको सोमबारको आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारबाट बाहिरिन नेता कोइराला लगायतका नेताहरुले दबाब दिएका थिए ।
तर सभापति देउवाले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेपछि नेता कोइरालाले आफ्नो पक्षका मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन दिइसकेको स्रोतले जनाएको छ । हाल नेता कोइराला चीन भ्रमणमा रहेको र उनी भ्रमण छोट्याएर भोलि (बुधबार) स्वदेश फर्कँदै छन् ।
केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट शेखर समूहबाट कृषि तथा पशुपन्छी विकास मन्त्री रामथान अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहेका छन् । स्रोतका अनुसार चारै जना मन्त्रीले अहिले केहीबेरमा सामूहिक राजीनामा प्रधानमन्त्री ओलीलाई बुझाउँदै छन् ।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्। सोमबार जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ। सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन्।
Facebook Comments