भदौ २९ देखि सर्वोच्च अदालतको काम आंशिक रूपमा सुचारु हुने

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०३:३४
Image of https://mayorsap.com/storage/photos/10/68c2b28d8a3a5.jpg

काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीको आगजनी र तोडफोडका कारण ठप्प रहेको अदालतको कामकारबाही अब आंशिक रूपमा सुचारु हुने भएको छ ।

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनहरूमा नियमित सुनुवाइ गर्ने निर्णय गरेको छ । सर्वोच्चको आकस्मिक पूर्ण बैठकले यो निर्णय गरेको हो ।

प्रदर्शनकारीको आक्रमणपछि भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभरका अदालतहरूमा सुनुवाइ पूर्ण रूपमा रोकिएको थियो । विज्ञप्तिमा आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू नष्ट भएको जनाइएको छ ।

सर्वोच्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले दिएको दायित्व निर्वाह गर्न र जनताको न्याय प्राप्त गर्ने अधिकारको सम्मान गर्न अदालत प्रतिबद्ध छ ।’

सर्वोच्चले न्यायको मार्गमा अविचलित र दृढ रहँदै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


Facebook Comments