‘लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार गठन गरियोस्’

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते १६:३२
Image of https://mayorsap.com/storage/photos/10/68c3d40a4ca12.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भएको व्यापक जनधनको क्षति र हिंसात्मक घटनामा मौन बसेको भन्दै आलोचना भोगेको राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा भने चासो व्यक्त गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा रहेर निकास खोज्न आग्रह गरेको छ ।

आयोगले आन्दोलनका बेला सुरक्षाकर्मीको बल प्रयोगबाट १६ जनाको मृत्यु र त्यसपछि प्रदर्शनकारीबाट सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसदजस्ता महत्त्वपूर्ण संरचनामा आगजनी भएको घटनाको सूक्ष्म अध्ययनमा भने कुनै प्रगति देखाएको छैन ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको जानकारी दिँदै आफ्नो धारणा राखेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, “मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ । मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।”

आयोगले मानव अधिकार, लोकतन्त्र र शान्ति स्थापनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ । तर, घटनाका बेला आयोगका अध्यक्ष तपबहादुर मगर भाषागोष्ठीमा व्यस्त रहेको भन्दै आयोगको भूमिकामाथि प्रश्न उठेको छ ।


Facebook Comments