शीतल निवासमा राष्ट्रपति, प्रधानसेनापति र जेनजीबीच छलफल

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते १५:५३
Image of https://mayorsap.com/storage/photos/10/68c3d82886c5c.jpg

काठमाडौं । ‘जेनजी’ समूहको संसद विघटनको मागमा सहमति जुट्न नसकेपछि राजनीतिक निकासका लागि राष्ट्रपति निवास शीतल निवासमा उच्चस्तरीय बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीको तर्फबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्की लगायत सहभागी छन् ।

विभिन्न जेनजी समूहहरूका साथै काठमाडौँका मेयर बालेन्द्र साहले संसद विघटनलाई आफ्नो मुख्य माग (बटमलाइन) बनाएका छन् । तर, राष्ट्रपति यसमा सहमत नभएकाले सहमति जुट्न नसकेको स्रोतले बताएको छ ।

बिहीबार राति भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटे पनि संविधानको कुन धाराअनुसार उनलाई प्रधानमन्त्री घोषणा गर्ने भन्ने विषयमा अन्योल बढेको छ ।

संसद विघटन नगरी नयाँ प्रधानमन्त्री नियुक्त गर्दा संवैधानिक नहुने र विघटनका लागि पनि कानुनी आधार नभएकाले समस्या भएको बताइएको छ ।

राष्ट्रपति र प्रधानसेनापतिले धोका नहुने र जेनजीका माग पूरा गर्ने आश्वासन दिएपछि सबै समूह सहमति नजिक पुगेका छन् । यस समूहबाट कानुनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याल लाई अघि सारिएको छ । संसद विघटनको विषयमा टुङ्गो लागेपछि मात्रै सबै समूहको भौतिक उपस्थितिमा सहमति हुने बताइएको छ ।


Facebook Comments