तोडफोड गरिएका सरकारी कार्यालयमा सेवा सुरु गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते २३:२१
दमौली । तनहुँमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएका सरकारी कार्यालयहरूमा अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयहरूलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार, प्रशासन कार्यालयले क्षतिको विवरण उपलब्ध गराउन र कार्यालयको सरसफाइ गर्न सबै कर्मचारीहरूलाई परिपत्र गरेको छ । “अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन्, सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ। अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ,” रेग्मीले भने ।
जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र डिभिजन वन कार्यालयका भवन तथा सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।
Facebook Comments