संसद विघटन संविधानविपरीत भएको कांग्रेसको ठहर
मेयरसाप डेस्क
|
२०८२ भदौ २८ गते २२:३९
काठमाडौं । नेपाली कांग्रेसले भर्खरै भएको संसद विघटनको कडा विरोध गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो कदमलाई संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको ठहर गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ र जेनजी आन्दोलनको भावनामाथि पनि आघात पुर्याएको छ ।’
जेनजी आन्दोलनमा घाइते भएका सभापति शेरबहादुर देउवा उपचारमा रहेकाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा यो बैठक बसेको थियो । बैठकमा सबै प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू सहभागी थिए ।
कांग्रेसले यसअघि नै भदौ २५ मा जेनजी आन्दोलनको समाधानका लागि राष्ट्रपतिले संवादको पहल गर्नुपर्ने र आन्दोलनकारीले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने सुझाव दिएको थियो ।
पार्टीले संविधानसम्मत समाधानका लागि संसदबाट संविधान संशोधन गर्ने र नयाँ निर्वाचनको घोषणा गर्नेजस्ता जिम्मेवार प्रस्तावहरू पनि राखेको जनाएको छ ।
“सबैको जित हुने र संविधानसम्मत बाटोबाट समाधान खोज्ने अवस्था हुँदाहुँदै ’सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रियाझ प्रयोग नगरी संविधानविपरीत निर्णयमा पुग्नु दुःखद छ,“ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले देशको स्थितिलाई थप बिग्रिन नदिन र संवैधानिक रिक्ततामा टेकेर लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास हुन नदिन पार्टीभित्र, अन्य दल र नागरिक समाजसँग परामर्श गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
Facebook Comments