दशकदेखि शरीर घिसार्दै जीवन धानिरहेका धनबहादुरलाई उपचारको आश

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ००:४२
Image of https://mayorsap.com/storage/photos/10/68d64169c9900.jpeg

नौगाड । दार्चुलाको महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री विगत एक दशकदेखि तिङ्कर खेडाको सडकमा शरीर घिसार्दै जीवन धानिरहेका छन् । वि.सं. २०७१ सालदेखि सुरु भएको शारीरिक समस्या बल्झिँदै गएर अचानक कम्मर र खुट्टाले काम गर्न छाडेपछि उहाँको जीवन कष्टकर बनेको हो ।

‘पाङ्ग्रा फुत्किएको गाडीझैँ’ बनेको शरीरको समयमै उपचार गर्न पैसा नहुँदा धनबहादुरको अवस्था झन् नाजुक बन्दै गयो । आँसु भरिएका आँखासहित उनले भने, “त्यतिखेर पैसा भएको भए उपचारका लागि अस्पताल जान्थेँ होला, मेरो शरीर चल्थ्यो होला ।” अपाङ्गताका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो नभएको उनको गुनासो छ।

उनकी श्रीमती मीना क्षेत्रीका अनुसार, तीन–चार वर्षयता हातले पनि काम गर्न छाडेपछि धनबहादुर पूर्ण रूपमा उनको सहारामा मात्र बाहिर–भित्र गर्न सक्ने अवस्थामा छन् । “कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ,“ मीनाले आफ्नो पीडा सुनाइन् । परिवार चलाउन सहयोग गर्न थालेकी एक छोरीले ब्यूटिपार्लर सिकेर सहयोग गरिरहेकी छन् ।

धनबहादुरले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्छन् र महाकाली नगरपालिकाले एउटा ह्वीलचियर प्रदान गरेको छ । यद्यपि, दम्पतीमा एउटा आशा अझै जीवित छ—राम्रो अस्पतालमा एकपटक पुग्न सके अहिलेको भन्दा अवस्था सहज हुने थियो कि! तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पिरले उनीहरूलाई दिनरात सताइरहेको छ ।


Facebook Comments