प्रधानमन्त्री कार्यालयद्वारा विपद् व्यवस्थापनमा उच्च सक्रियता देखाउन निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते ०१:२७
Image of https://mayorsap.com/storage/photos/10/68dfd9a7f303f.jpg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान पछि विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद् व्यवस्थापन समिति लगायत सबै निकायलाई विपद् पूर्वतयारी, प्रतिकार्य, खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुन सक्ने प्रक्षेपण भएकोले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्भावित डुबान क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्न पूर्वतयारी गर्न भनिएको छ । गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र गम्भीर खालका बिरामीहरूलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्नसमेत अनुरोध गरिएको छ।

आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

 


Facebook Comments