सुरक्षा निकायलाई विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते २३:२०
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । भ्रमणका क्रममा गृहमन्त्री अर्यालले कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन र विपद् उद्धार सामग्री भण्डारको अवलोकन गरे ।
उनले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उनले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए भने विपद् व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले मनसुन पूर्वतयारी र प्रतिकार्य योजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
Facebook Comments