ऊर्जामन्त्री घिसिङ र कोरियाली राजदूतबीच शिष्टाचार भेट
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते ०२:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले आज (सोमबार) शिष्टाचार भेट गरेका छन् ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
मन्त्री घिसिङले ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ५०० मेगावाटभन्दा ठूला जलाशयुक्त जलविद्युत् आयोजनामा सहयोग गर्न आग्रह गरे । उनले हरित हाइड्रोजन उत्पादन लाई नमूना परियोजनाका रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरे ।
मन्त्री घिसिङले इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन एक्जिम बैङ्कमार्फत प्राप्त हुने सहायता लाई चाँडो टुङ्ग्याउन र रेलमार्ग निर्माण तथा क्षमता विस्तारमा सहयोग गर्न पनि अनुरोध गरे ।
उनले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन र कोरियाबाट फर्किएपछि प्राप्त सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलता विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
राजदूत पार्कले रसुवामा कोरियन सरकारी कम्पनीको लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगति (झण्डै ७० प्रतिशत) बारे जानकारी गराउँदै सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिए ।
उनले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारीसमेत दिएका थिए ।
Facebook Comments