पूर्वसभामुख महराविरुद्ध अदालतमा अभियोगपत्र दायर
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते २०:१६
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसपछि पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको छ ।
महरालाई इलेक्ट्रिक चुरोट ’भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न भएको कसुरको पूरक अभियोगमा मात्र प्रतिवादी कायम गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेले जानकारी दिए ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ’भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा चिनियाँ सुन तस्कर दाओजिन वाङसँग महराको ’कनेक्सन’ देखिएपछि जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा र उनका पुत्र राहुल महराले छुटाउन भूमिका खेलेको आरोप छ । महराले प्रहरीको बयानमा दाओजिन वाङसँग चिनजान मात्र रहेको तर कारोबार नगरेको स्वीकार गरेको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार (हिजो) ललितपुरको खुमलटारबाट महरालाई पक्राउ गरेको थियो ।
Facebook Comments