विमानस्थलमा यात्रुलाई ‘हातले छामछुम’ गर्ने तरिकामाथि आयोगले उठायो प्रश्न

झन्झटिलो निरीक्षणले मुलुकको छवि धमिलियो

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १९ गते २३:०४
Image of https://mayorsap.com/storage/photos/shares/bimansthal-ma-chhamchhum.jpg

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन आयोगले अन्तर्राष्ट्रिय विमानस्थलभित्रको भन्सार जाँच प्रक्रिया र सुरक्षाकर्मीको व्यवहारमा गम्भीर प्रश्न उठाएको छ ।

आयोगको प्रतिवेदनले विमानस्थलको आगमन कक्षमा प्रत्येक यात्रुलाई हातले छामछुम गर्ने तरिका अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको र यो राजस्व असुलीमा मात्र लक्षित देखिएको निष्कर्ष निकालेको छ ।

यस्तो झन्झटिलो तरिकाले पर्यटकीय मुलुकको छवि नकारात्मक बनेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, आयोगले सुरक्षाकर्मीको कार्यशैली पुरानो अभ्यासमा आधारित रहेको र आगमन भवनबाट बाहिर निस्कनासाथ निजी सुरक्षाकर्मीले यात्रुलाई पार्किङ क्षेत्रमा जानैपर्ने गरी बाध्य पारेर शुल्क असुल्ने नियत राखेकोमाथि पनि प्रश्न उठाएको छ । 

यस्ता व्यवहारले स्वदेशी तथा विदेशी यात्रुले असुरक्षित महसुस गर्ने र यसले विमानस्थल सुरक्षामाथि नै प्रश्नचिह्न खडा गरेको आयोगको ठहर छ ।

आयोगले संगठित अपराध नियन्त्रणमा उल्लेख्य भूमिका नदेखिएको भन्दै विमानस्थल सुरक्षामा विज्ञता हासिल गरेको विशेष दस्ता खटाउनुपर्ने माग गरेको छ ।


Facebook Comments