मकवानपुरमा ३० बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा फडानी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २२ गते १८:५१
Image of https://mayorsap.com/storage/photos/shares/ganja.jfif

मकवानपुर । प्रहरीले मकवानपुरको तीन गाउँपालिकाका विभिन्न वडामा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका विभिन्न वडामा लगाइएको गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौंडाबाट खटिएको संयुक्त टोलीले चार दिनसम्मको विशेष अभियान सञ्चालन गरी करिब ३० बिघा १० कट्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फँडानी गरेको हो ।

कार्तिक १७ गतेदेखि २० गतेसम्म चलेको उक्त अभियानमा १०२ जनाको संयुक्त प्रहरी टोली खटिएको थियो । प्रहरीले अवैध लागूऔषध गाँजा खेती नियन्त्रणका लागि नियमित रूपमा अभियान सञ्चालन गरिरहेको र आगामी दिनमा यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूमाथि कडाइका साथ कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।


Facebook Comments