उपप्रमुख डंगोलसँग फिनल्याण्डका राजदूत पुहाक्काको शिष्टाचार भेट
चक्रीय अर्थव्यवस्था, फोहर व्यवस्थापन र स्वच्छतामा सहकार्यबारे चर्चा
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते ०६:११
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन्। भेटमा चक्रीय अर्थव्यवस्था, सहरी आचरण, स्वच्छता र सरसफाइबारे आपसी सहकार्यका सम्भावनासहित विभिन्न विषयमा कुराकानी भएको महानगरले जनाएको छ।
उपप्रमुख डंगोलले फोहर व्यवस्थापनलाई चक्रीय अर्थतन्त्रको सफल उदाहरणको रूपमा प्रस्तुत गर्दै “फोहरबाट मोहर” बनाउने अभियानमा महानगरले लामो समयदेखि काम गर्दै आएको बताइन्। फोहरलाई कम्पोस्ट बनाएर मल उत्पादन गर्ने तथा सो मल प्रयोग गरी कौसी खेतीमार्फत फलफूल र तरकारी उत्पादन गर्ने कार्यक्रम महानगरले नियमित रूपमा सञ्चालन गर्दै आएको उनले जानकारी दिइन्।
त्यस्तै, कागज, प्लास्टिकजस्ता फालिएका बस्तु संकलन गरी दैनिक उपभोग्य सामग्री र सजावटका सामान उत्पादन गर्ने कार्य समुदाय स्तरमै उद्यमका रूपमा विकास भइरहेको उपप्रमुख डंगोलले बताइन्। यस पहलले स्थानीय आय वृद्धि र रोजगार सिर्जनामा सहयोग पुगेको उनको भनाइ थियो।

भेटका क्रममा राजदूत पुहाक्काले फिनल्याण्डले मधेश र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै काठमाडौँ महानगरसँग पनि सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।
“पिउने पानीको शुद्धता, सहरी वातावरण तथा स्वच्छताका क्षेत्रमा महानगरले आवश्यकता महसुस गरेको खण्डमा हामी सहकार्य गर्न तयार छौँ,” राजदूत पुहाक्काले बताए।
Facebook Comments