प्रधानमन्त्री कार्की र उपत्यका ‘मेयर फोरम’ बीच भेट
निर्वाचन तथा स्थानीय समस्यामा छलफल
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते ०१:२१
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग उपत्यका मेयर फोरमका प्रमुखहरूले स्थानीय समस्याहरू र आगामी निर्वाचनका विषयमा बालुवाटारमा भेटवार्ता गरेका छन्। मेयरहरूले सरकारको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
भेटमा मेयरहरूले फोहर व्यवस्थापन, सडक बत्तीको बक्यौता, सुरक्षा चुनौती, विकास निर्माणका अवरोधलगायत स्थानीय तहका दीर्घकालीन समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराए। सरकारले अब ‘बोल्ड निर्णय’ गर्नुपर्ने मेयरहरूको धारणा थियो।
ललितपुरका मेयर चिरिबाबु महर्जनले वर्षौंदेखि रोकिएको सडक बत्तीको बक्यौता ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत संघले तिर्ने मोडल मिलाइदिन आग्रह गरे।
गोकर्णेश्वरका मेयरले नेपाल ट्रस्टको जग्गामा सडक विस्तारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरे।
टोखाका मेयर प्रकाश अधिकारीले टोखा–छहरे सडक चौडाइका लागि स्थानीय मुआब्जा निर्णय गर्न गैरदलीय सरकारले ‘ऐतिहासिक कदम’ चाल्नुपर्ने सुझाव दिए। बूढानीलकण्ठका मेयर मीठाराम अधिकारीले आन्दोलनसँग सम्बन्ध नै नसकेका व्यक्तिहरूबाट भइरहेको लुटपाटमा कडा कारबाही माग गरे।
चाँगुनारायणका मेयर जीवन खत्रीले वर्षौंदेखि अधुरो सल्लाघारी–कमलविनायक–नगरकोट सडक छिटो सम्पन्न गरिदिन आग्रह गरे। ‘जेनजी’ प्रदर्शनपछि बढेको सुरक्षा चुनौती र दैनिक प्रशासनिक काममा परेको अवरोधबारे पनि धेरै मेयरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित भएको उल्लेख गर्दै स्थानीय सरकारको सक्रिय सहयोग आवश्यक रहेको बताइन्। “निर्वाचन मात्रै गर, अरू काम नगर भन्ने कुरा पनि उठेको छ। तर स्थानीय तहले उठाएका समस्या समाधानमा पनि ध्यान दिनुपर्छ। के–कति गर्न सकिन्छ, मिलेर प्रयास गरौँ,” उनले भनिन्।
युवामा देखिएको असन्तुष्टि आत्मपरीक्षणको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले नयाँ पुस्ताको सोच बुझेर देशलाई बस्नलायक बनाउन सबै तहले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखिन्।
Facebook Comments