अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, तल्लो बाटोबाट जानेहरू धेरै

हालसम्म २ सयभन्दा बढी नेपाली फिर्ता

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १७:४४
Image of https://mayorsap.com/storage/photos/shares/diport.jpg

काठमाडौं । विभिन्न कारणले अमेरिकाबाट ३५ जना नेपाली नागरिकहरू डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्काइएकाहरूमा अधिकांश अवैध ’तल्लो बाटो’बाट अमेरिका पुगेका व्यक्तिहरू छन् ।

डिपोर्ट हुनेहरूमा अवैध रूपमा गएका ३३ जना बाहेक, भिसा नवीकरण नगरी काम गरेको पाइएपछि एक जना विद्यार्थी भिसावाहक र भिजिट भिसामा गएर काम गर्न थालेका एक जना पनि रहेको एसएसपी पंगेनीले बताए ।

यसरी अवैध तरिकाले अमेरिका पुग्नका लागि नेपालीहरूले ८० लाख रुपैयाँसम्म तिरेको अनुसन्धानमा पाइएको छ । विभिन्न देश हुँदै अवैध रूपमा छिरेको २ वर्षपछि पनि अमेरिकाले उनीहरूलाई डिपोर्ट गरेको हो ।

फर्काइएकाहरूमा अधिकांश रुकुम र दाङ क्षेत्रका रहेको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरी दिन आग्रह गरे पनि उनीहरूले भने मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै अवैध आप्रवासीहरूविरुद्ध कडा नीति लिएका थिए । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि हालसम्म २ सयभन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् ।


Facebook Comments