प्रधानन्यायाधीश राउतसहित उच्चस्तरीय टोली भारत भ्रमणमा
शृंखलाबद्ध भ्रमणबारे सर्वोच्चभित्रै प्रश्न?
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते ०५:५६
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको एक उच्चस्तरीय टोली आगामी शनिबार भारत भ्रमणमा जाँदैछ । टोलीले नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोह र संविधान दिवसको कार्यक्रममा भाग लिनेछ ।
प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र मुख्य रजिष्ट्रार विमल पौड्याल लगायत छन् । सरकारले उद्योगमन्त्री अनिलकुमार सिन्हालाई समेत यसै भ्रमणका लागि अनुमति दिएको छ ।
यद्यपि, सर्वोच्च अदालतभित्र भने नेतृत्वको यो शृङ्खलाबद्ध विदेश भ्रमणप्रति असन्तुष्टि देखिएको छ । एक न्यायाधीशले छिमेकी प्रधानन्यायाधीशको शपथमा समकक्षीहरूलाई बोलाउने अभ्यास नरहेको भन्दै निमन्त्रणा पाउनासाथ उत्साहित हुनु उचित नभएको टिप्पणी गरेका छन् ।
अझ महत्त्वपूर्ण कुरा, अघिल्लो भ्रमणका बेला प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीश मल्ल दुवै विदेशमा हुँदा कामु प्रधानन्यायाधीशको जिम्मेवारी तेस्रो वरीयताका न्यायाधीशले सम्हाल्नुपरेको थियो ।
हाल सर्वोच्च अदालत जेन–जी आन्दोलनपछिको आगजनीले गर्दा कागजात जलेर विषम परिस्थितिमा गुज्रिरहेका बेला नेतृत्वले बारम्बार विदेश भ्रमणमा मोह राख्नु न्यायपालिकाका लागि उचित नभएको भन्दै ती न्यायाधीशले प्रश्न उठाएका छन् ।
Facebook Comments