हेटौँडामा सडक सीमा खाली गर्न १५ दिने अल्टिमेटम
संरचना हटाउन निर्देशन
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते २३:४३
मकवानपुर । सडक डिभिजन कार्यालय हेटौँडाले बजार क्षेत्रमा पर्ने सडकको सीमाभित्र बनेका संरचनाहरू हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ ।
सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीतिलाई कार्यान्वयन गर्न यो कदम चालिएको कार्यालयले स्पष्ट गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्ध चोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखाबाट २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल र अन्य संरचनाहरू स्वेच्छाले हटाउन निर्देशन दिएको छ ।
यद्यपि, हेटौँडा बजार क्षेत्रमा पाँच दशकदेखि पटक–पटक सडक विस्तारको योजना अघि सारिए पनि अहिलेसम्म यथार्थमा काम हुन सकेको छैन ।
यातायातको चाप, साँघुरो सडक र दैनिक जामको समस्या समाधान गर्न विस्तार अपरिहार्य भए पनि, स्थानीयवासी र व्यापारीहरूले मुआब्जा, राजनीतिक दबाब र प्रतिरोधका कारण यो सूचना पनि विगतझैँ कागजमै सीमित हुने हो कि भन्दै आशंका व्यक्त गरिरहेका छन् ।
तोकिएको समयभित्र संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने चेतावनीसमेत डिभिजन कार्यालयले दिएको छ । तर, १५ दिनको अल्टिमेटमपछि वास्तविक रूपमा सडक विस्तार कहिले सुरु हुन्छ भन्नेबारे भने स्पष्टता छैन ।
Facebook Comments